
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजमा भ्रम फैलाउने गतिविधिप्रति सबै सजग हुनुपर्ने बताएका छन्। मन्दिरमा बजाइने पवित्र घन्टीलाई रास्वपाले गलत प्रयोग गरी भ्रम सिर्जना गरेको मुख्यमन्त्री बानियाँले आरोप लगाएका छन्।
बिहीबार मनोहरा जेसिसको १०औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राष्ट्रिय जनावर गाईलाई पूजा गर्नुपर्ने ठाउँमा काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्ति अस्वीकार्य रहेको बताए। उनले समाजलाई विभाजन गर्ने खालका अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा उनले युवाहरूलाई मोबाइलमै सीमित भएर समय बिताउनुको सट्टा सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरे। ‘समाज परिवर्तनका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जेसिसजस्ता संस्थाहरूले युवाहरूलाई अनुशासनमा बाँध्दै सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। उनले यस्ता संस्थाहरूलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग सधैँ रहने प्रतिबद्धता जनाए।
मेयर कार्कीले हरेक युवा समाज निर्माणका कार्यमा सक्रिय रूपमा लागेमा सुन्दर मुलुक बनाउने सपना पूरा गर्न कठिन नहुने विश्वास व्यक्त गरे।