काठमाडौं, माघ १९ :

काठमाडौँ क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन यसपटक पनि रोचक देखिएको छ। काठमाडौँकै सबैभन्दा धेरै मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ३ सय १५ महिला र ४३ हजार ३ सय ९३ पुरुष गरी जम्मा ८८ हजार ७ सय ८ जना मतदाता छन्। निर्वाचनका लागि यहाँ ४० वटा मतदान स्थल र १०० वटा मतदान केन्द्र तोकिएका छन्।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले २८ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। प्रमुख प्रतिस्पर्धामा नेकपा एमालेबाट सूर्य चिह्नसहित मणिराम फुयाँल, नेपाली काँग्रेसबाट रुख चिह्नसहित कबिर शर्मा, नेपाल कम्युनिष्ट पार्टीबाट पाँचकुने तारा चिह्नसहित नितेश पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट घण्टी चिह्नसहित सुनिल के.सी. तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हलो चिह्नसहित कुन्ती देवी पोखरेल (उपाध्याय) रहेका छन्।

यसैगरी नेपाल किसान मजदुर पार्टीबाट मादल चिह्नसहित शर्मीला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट खुलेको एकल आँखा चिह्नसहित बालचन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट हँसिया चिह्नसहित उपेन्द्र कार्की उम्मेदवार बनेका छन्।

अन्य दलतर्फ राष्ट्रिय परिवर्तन पार्टीबाट बाँसुरी चिह्नसहित अनुप बोहरा, जय मातृभूमि पार्टीबाट काखमा बच्चा लिएको आमा चिह्नसहित आनन्द सिङ्खडा, श्रम संस्कृति पार्टीबाट अञ्जुलीमा माटो चिह्नसहित मुकुन्द कार्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट गुलाफको फूल चिह्नसहित प्रकाश बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलिरहेको बिजुलीको चिम चिह्नसहित पवन पोखरेल, त्रिमूल नेपालबाट ओदान चिह्नसहित कृष्णबहादुर खत्री, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट चकिया (जाँतो) चिह्नसहित नर्वदा कुमारी भट्टराई तथा आम जनता पार्टीबाट मोबाइल चिह्नसहित तिलक बहादुर मगर मैदानमा छन्।

यस निर्वाचनमा १२ जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन्। स्वतन्त्र उम्मेदवारमा डस्टबिन चिह्नसहित सीता तिवारी, आँप चिह्नसहित तीर्थराज पौडेल, कप–प्लेट चिह्नसहित वीरेन्द्र कुमार शाह, जीप चिह्नसहित रुपक बस्ताकोटी, ब्याडमिन्टन कर्क चिह्नसहित राजकुमार श्रेष्ठ, क्याप चिह्नसहित रुपक सिङ्खडा, कैँची चिह्नसहित अर्जुन ढुङ्गाना, भँगेरा चिह्नसहित टप बहादुर थापा, स्टुल चिह्नसहित इरा श्रेष्ठ, आरी चिह्नसहित मञ्जु लामा, सिरिन्ज चिह्नसहित विश्वास बस्नेत र त्रिभुज चिह्नसहित त्रिलोक बहादुर चन्द रहेका छन्।

काठमाडौँ–२ अघिल्लो २०७९ सालको निर्वाचनमा रास्वपाले जितेको क्षेत्र हो। सो निर्वाचनमा रास्वपाकी सोविता गौतमले १५ हजार २ सय २९ मतसहित विजय हासिल गरेकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गर्दा राप्रपाकी कुन्ती देवी पोखरेल (उपाध्याय) ले ११ हजार १४ मत ल्याएकी थिइन्।

यसपटक रास्वपाले सोविता गौतमको साटो सुनिल के.सी.लाई उम्मेदवार बनाएको छ भने एमाले र राप्रपाले अघिल्लै उम्मेदवारलाई दोहोर्‍याएका छन्। रास्वपाले आफ्नो जितको निरन्तरता कायम राख्न सक्छ कि पुराना दलले पुनः बहुमत हासिल गर्ने हुन् भन्ने प्रश्नले काठमाडौँ–२ को निर्वाचनलाई थप चासो र प्रतिस्पर्धात्मक बनाएको छ।