काठमाडौं, माघ २० :

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका निकायबाट भएका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

मंगलबार सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भण्डारीले मन्त्रालय मातहतका निकायबाट भएका काम कारबाही जनमुखी हुन नसकेको र सेवाग्राहीहरुले गुनासो गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । श्रम क्षेत्रमा आफू अनुकुलको कार्यविधि बनाउदै सिन्डिकेट खडा गरेको र श्रमिक मैत्री बन्न नसकेको उनले बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रमा फ्रि भिसा र फ्रि टिकटको प्रावधानले विसंगति भित्र्याएकाले यसलाई खारेज गर्नुपर्ने बताए । बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्रि भिसा र फ्रि टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिएको उनको भनाइ छ । उनले वैदेशिक रोजगारी जानेलाई बिनाधितो ऋण दिने, स्वास्थ्य परिक्षण निशुल्क गर्ने र सवै सिन्डिकेट खारेज गर्नुपर्नेमा जोड दिए ।