काठमाडौै, माघ २५ :

अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित नव अरुणिमा माध्यमिक विद्यालय, आरुबारीको अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसाल, उप–प्रमुख सान्नानी लामा तथा वडा नं. ९ का वडा अध्यक्ष राजीव थापालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद दंगालले विद्यालयमा सञ्चालन भइरहेका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको समग्र विवरण प्रस्तुत गरे । त्यसैगरी अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले विद्यालय स्थापनाकालमा स्थानीय समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै रमेश विकल, बुद्धिबहादुर थापा, विजय चालिसे, सनत कुमार रिसाल, पृथ्वीमान सिंह बस्नेतलगायत व्यक्तित्वहरूप्रति आभार व्यक्त गरे । उनले निजी शैक्षिक गुठीको अवधारणाबारे पनि प्रकाश पारे ।

नगरप्रमुख दीपक कुमार रिसालले नव अरुणिमा माध्यमिक विद्यालयले उपत्यकाको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उप–प्रमुख सान्नानी लामाले नव अरुणिमालाई नगरपालिकाकै नमुना विद्यालयका रूपमा वर्णन गरिन् । पूर्वविद्यार्थीको तर्फबाट मन्तव्य राख्दै सञ्जिता चालिसेले नव अरुणिमाको विद्यार्थी हुनु गर्वको विषय भएको बताइन् ।

सोही अवसरमा क्रिकेटप्रति विशेष रुचि र क्षमता भएका उत्कृष्ट विद्यार्थीहरूलाई अरुणिमा परोपकार प्रतिष्ठान अन्तर्गतको अमोद स्मृति क्रिकेट पुरस्कार कोषबाट नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ठाकुर शर्मा भण्डारीले विद्यालयले विद्यार्थीहरूलाई अध्यात्म, संस्कृति, चालचलन र परम्परालगायत जीवनोपयोगी मूल्य–मान्यताहरू सिकाउँदै आएको कुरा विद्यार्थीहरूको प्रस्तुतिबाट स्पष्ट भएको बताए । कार्यक्रमका सभाध्यक्ष तथा नव अरुणिमा माध्यमिक विद्यालयका अध्यक्ष गोपाल प्रसाद बरालले गुणस्तरीय शिक्षामा विद्यालयले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै विद्यार्थी, अभिभावक र स्थानीय समुदायको सहकार्यमा संस्था अघि बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विविध लोक तथा आधुनिक नृत्य, गायन, अर्केस्ट्रा, योग, तेक्वान्दो तथा सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।