
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका गल्ती सच्याउँदै कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । थापाले मधेसको मुद्दामा कांग्रेसले नेतृत्व गर्ने दाबी गरे ।
सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले थापाले सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न नसकिने बताए । उनले भने, ‘मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन ।’
भदौ २३ र २४ का घटनाहरू नागरिकहरूको असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै थापाले पासपोर्ट, लाइसेन्स, बेरोजगारी र ऋणको समस्याले जनता दिक्क भएका कारण सडकमा आउने बाध्यता भएको उल्लेख गरे । ‘पढाउँदा लाखौँ खर्च भएको छ, तर सहरमा २० हजारको जागिर छैन । बैंकको ऋणले घाँटी थिचेको छ’ उनले भने, ‘यो हैरानीको उपचार खोज्ने जिम्मा लिएका हामीले वास्ता नगरेपछि जनता सडकमा आएका हुन् ।’
उनले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गरे। उनले भ्रष्टाचारलाई महारोग ठहर गर्दै यसको अन्त्य माथिबाटै सुरु हुनुपर्ने बताए ।‘प्रधानमन्त्री भएर आफ्नोको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन’ उनले भने ।