काठमाडौं, माघ २८ :

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताएका छन्। 

राष्ट्रियसभाको बुधबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उनले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारे । 

अर्थमन्त्री खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको पनि बताए । उनले आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरु सुरु हुने क्रममा रहेको बताए ।

आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरूको दायित्व सृजना भएर भुक्तानी गर्न नसकिएको उनले बताए ।

उनले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका , खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरुको रकम स्थगनमात्रै गरिएको जानकारी दिए । 

तर अहिले डिजाइन सकेर टेन्टरमा जाने क्रममा रहेका वा गइसकेका, उपभोक्ता समितिसंग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेका लगाएतका केहि महत्वपूर्ण आयोजनाहरुको रकम फुकुवा गरिएको उनको भनाइ छ ।