
नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणअन्तर्गत तेस्रो खेलमा आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसंग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईको वानखेडे रगंशालामा खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले सुपर एटको झिनो सम्भावनालाई कायम राख्नका लागि आजको खेल जित्नैपर्ने हुन्छ ।
आज पराजित भए नेपाल एक खेल अघि नै विश्वकपबाट बाहिरिनेछ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा पनि नेपाली टोलीको चौतर्फी प्रशंसा भएको थियो। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको एकतर्फी हारमा भने नेपाली टोलीको व्यापक आलोचना भएको थियो।
नेपाललाई पराजित गरेको अवस्थामा वेष्ट इण्डिज भने एक खेल अगावै सुपर एटमा पुग्नेछ। वेस्ट इण्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रन र दोस्रो खेलमा इंग्ल्यान्डलाई ३० रनको जित निकालेको थियो।
केही महिनाअघि युएईमा भएको ३ खेलको टि ट्वान्टी सिरिजमा वेस्ट इन्डिजले नेपालसँग २-१ ले पराजित भएको थियो । त्यस बेला वेस्ट इन्डिज टोलीका कप्तान रहेका अकिल हुसेन र जेसन होल्डर पनि आइतबार नेपालसँग हुने खेलमा खेल्नेछन् ।
नेपालले टि ट्वान्टीमा हराएको एक मात्र टेस्ट राष्ट्र वेस्ट इन्डिज नै हो।
जारी विश्वकपको समूह सी मा लगातार दुई खेलमा पराजित हुने नेपाल मात्र एक्लो टोली हो। सुरुवाती २ खेलमा जित निकाल्दै वेस्ट इण्डिज ४ अंकमा शीर्ष स्थानमा छ।
२ खेलमा जित र १ मा हार भोग्दै इंग्ल्यान्ड पनि ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। १ खेलमा जित र २ खेलमा हार भोग्दै स्कटल्यान्ड २ अंकमा तेस्रो स्थानमा छ।
१ जित र १ हार भोगेको इटाली २ अंकमा अंक तालिकाको चौथो स्थानमा रहेको छ।