
काठमाडौँका पूर्वमेयर बालेन्द्र साहविरुद्ध घर ठेगाना परिवर्तनमा झूटो विवरण दिएको आरोपमा गृह मन्त्रालयमा उजुरी परेको छ। अभियन्ता युवराज सफलले साहको नागरिकता रद्द गर्न र कानुनी कारबाहीसहित जरिवानाको माग गर्दै उजुरी दिएका हुन् । उनले नागरिकता ऐन विरूद्ध कार्यप्रति कारबाही नभए सर्वोच्च अदालतसम्म जाने चेतावनी दिएका छन्।
गृहमन्त्रालयलाई सम्बोधन गर्दै सफलले दर्ता गरेको निवेदनमा २०६३ साल पौस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको नागरिकतामा घर ठेगाना ‘साह’ उल्लेख गरिएको तर पछि काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा घर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी गरिएको छ।
नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्। निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न माग गरिएको छ।