
सरकारले धादिङ बस दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधि सहभागी थिए ।
समितिमा को-को रहने भन्ने निर्णय भइनसकेको गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदी जानकारी दिइन् । उनका अनुसार घाइतेहरूको उद्धार, राहत र दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भएको छ ।
सोमबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटना हुँदा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।