काठमाडौं, फागुन १४ :

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौं क्षेत्र नं- २ थलीमा आयोजित पार्टीको चुनावी अभियानलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले अहिले एकथान सांसद चुन्ने र सरकार निर्माण गर्ने चुनाव मात्रै नभई देशलाई जोगाउदै अघि बढ्नुपर्ने भएकाले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

 उनले पटक-पटक असफल भएका र कुनै दृष्टिकोण स्पष्ट नभएकालाई मत दिएर गल्ती गर्ने की देशमा शान्ति, स्थिरता र विकासका लागि लाग्नेहरुलाई मत दिने भन्ने बुझ्न समेत आग्रह गरे । अहिले देशमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि जनताले खोजिरहेको बिकल्प राप्रपा मात्रै भएको उनले बताए । 

उनले नयाँ पुराना सबै शक्तिहरूलाई मिलाएर देशलाई केन्द्रमा राखेर मुलुकलाई अघि बढाइने जिकिर गरे । आगामी संसदमा एउटा बलियो शक्तिको रूपमा राप्रपाको उपस्थिति जरुरी रहेकाले देश बनाउने र बचाउने अभियानमा साथ दिन उनले आह्वान समेत गरे ।

त्यस्तै काठमाडौं–२ की राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले युवाहरुको बलिदानपछि मुलुकमा चुनाव हुन लागेको भन्दै युवाहरुको भविष्य निर्माणका लागि आफुहरु चूनावी मैदानमा उत्रिएको बताइन् ।

काठमाडौं–२ मा राप्रपाकी पोख्रेलका साथै नेकपा एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कविर शर्मा, नेकपाबाट नितेश पौडेल, रास्वपाबाट सुनिल केसी लगाएत चुनावी प्रतिष्पर्धामा छन्।