काठमाडौं, फागुन १८ :

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मुलुक पुनः एक ऐतिहासिक मोडमा उभिएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सरकार सफल भएको दाबी गरिन्। विधिको शासन स्थापना गर्दै स्थिरताको दिशामा अघि बढ्नु सम्पूर्ण नेपाली जनताको संयम, धैर्यता र सहकार्यको परिणाम भएको उनको भनाइ थियो।

उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने कार्य नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णयका रूपमा व्याख्या गरिन्। “फागुन २१ गते अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्नुहोस्,” उनले अपिल गरिन्।

निर्वाचनको पूर्वसन्ध्यामा शान्ति, अनुशासन र संयम कायम राख्न आग्रह गर्दै उनले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि मनमुटाव र वैमनस्य हुन नहुने बताइन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा प्रचारप्रसारका क्रममा संयमित व्यवहार गर्न राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई आग्रह गरिन्।

निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै उनले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको र प्रदेश तथा स्थानीय तहबाट आवश्यक सहयोग भइरहेको जानकारी दिइन्।

सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र तथ्यहीन सामग्रीप्रति सतर्क रहन आग्रह गर्दै उनले त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइन्। दण्डहीनतालाई प्रश्रय नदिने सरकारको अडान दोहोर्याउँदै कानुनबमोजिम कारबाही गर्न पछि नहट्ने स्पष्ट पारिन्।

यसैबीच, होली (फागु पूर्णिमा) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले संयमित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरिन्। “कसैको इच्छाविपरीत रङ नलगाऔँ,” उनले भनिन्।