
पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट प्रहरीले बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरीलाई पक्राउ गरेको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । आज आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख सुदीपराज पाठकले गएराति उम्मेदवार चौधरी हिँडेको गाडीमा होक्सी बम भेटिएको बताए ।
चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटिएपछि हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उनले पत्रकार सम्मेलनमा भने । चौधरीसहित उनी सवार गाडीमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ ।उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ ।
चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।