
काठमाडौं, फागुन २० :
प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौंका सडकहरू सुनसान देखिएका छन्। निर्वाचनमा सहभागी हुन सर्वसाधारण आ–आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेपछि राजधानीमा सवारी साधनको चापसँगै मानिसहरूको चहलपहल उल्लेख्य रूपमा घटेको हो।
दैनिक अत्यधिक भीडभाड हुने मुख्य सडकहरूमा समेत सवारी आवागमन कम देखिएको छ। बजार क्षेत्रहरू पनि सामान्य दिनहरूको तुलनामा शान्त देखिएका छन्। उपत्यकाबाट ठूलो संख्यामा मतदाता बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि मतदान भोलि फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आह्वान गरिएको छ।