काठमाडौं, फागुन २७ :

नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको कांग्रेस राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरुबीचको छलफलले आगामी दिनमा जनताको भावना अनुरुप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

राष्ट्रियसभामा ठूलो दलको हैसियतले रचनात्मक भूमिका रहने उनले बताए। उनले नयाँ परिस्थितिमा जिम्मेवारी पनि नयाँ ढङ्गले थपिएको भन्दै उनले राष्ट्रको हितमा, जनताको भावना अनुरूप अरूभन्दा सक्रिय जागरूकता र विशेष जिम्मेवारीका साथ काम गरेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिनिधिसभा निर्वाचनको नजिता अप्रत्याशित देखिएको भन्दै पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने उनको भनाइ छ । सिटौलाले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने बाटो खोज्नुपर्नेमा जोड दिए ।

त्यस्तै छलफलपछि कांग्रेसका नेता जितजंग बस्नेतले विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने माग गरे । बस्नेतले आफ्नो राजीनामाको बिषयमा सभापति गगन थापाले मिडिया ट्रायल गरेको आरोप समेत लगाए । विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ ।

नेता बस्नेतले जनताले दिएको म्याण्डेड स्वीकार्य रहेको र अब आगामी दिनमा राम्रो काम गर्दै जानुपर्ने धारणा राखे ।