
नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत्र ५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यहि चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थीत बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो ।
प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला-क्लब, स्कुल तथा डोजोका खेलाडीहरुका साथै वंगलादेश र भुटानका खेलाडीहरुको समेत गरि ३०० जनाको सहभागीता रहने राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए ।
पुरुष र महिलातर्फ बिभिन्न तौलसमूह र स्पर्धामा हुने प्रतियोगिताका बिजयी खेलाडीहरुलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई रु १५ हजार, दोश्रोलाई १५ हजार, तेश्रोलाई ५ हजार र बेष्ट महिला दुई पुरुष २ लाई रु ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । उनीहरुको खाना, बसोवास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।