काठमाडौं, चैत ९ :

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौँ रूपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाही बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौँ महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्की पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै रु दुई लाख ९९ हजार गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही रु दुई लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै रु तीन लाख ६८ हजार ठगी गरेका थिए ।

 उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।