काठमाडौै, चैत १२ :

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै महिला तथा मानव अधिकारकर्मीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । रास्वपाको नेतृत्वमा बन्न लागेको सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेपछि त्यसको विरोध गर्दै उनीहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।  

मन्त्रालयको संख्या घटाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई गाभेर स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय बनाउने तयारी भएको छ ।
प्रदर्शनकारीहरूले महिला मन्त्रालय खारेज गर्न पाइँदैन, ५१.५ प्रतिशत पहिचान, हाम्रो मन्त्रालय हाम्रो शान, महिला आन्दोलनको उपलब्धिलाई कुठाराघात गर्न पाइँदैन, सडकमा छौँ अधिकारका लागि, चुप बस्दैनौं पहिचालनका लागि, ५१ प्रतिशत महिलाको अधिकारमा सम्झौता हुन सक्दैन लगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खबरदारी स्वरुप प्रदर्शन गरिएको बताइन् । उनले निर्णय भइसकेपछि निर्णय बदल्न गाह्रो हुने भएकोले निर्णय अगावै खबरदारी गरेको उनको भनाइ थियो । राज्यको खर्च कटौती गर्ने नाममा सरकारले केही मन्त्रालयलाई गाभ्ने तयारी भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पटक-पटक महिला मन्त्रालयमाथि टार्गेट गर्ने गरिएको बताइन् । उनले राज्यले महिला मन्त्रालयलाई कहिल्यै प्राथमिकतामा नराखेको बताइन् । उनले पहिला महिला मन्त्रालय खारेज गर्ने र त्यसपछि महिला आयोग पनि खारेज गर्ने तयारी गरेकोले चनाखो हुन आग्रह गरिन् ।