काठमाडौं, चैत १८ :

नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको हो । 

अब उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि वढाउने निर्णय भएको कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५ सय ७ उजुरीलाई वर्गीकरण गरी अविलम्ब टुंगोमा पु¥याउने निर्णय गरेको छ भने छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नहुने अनुशासन समितिले जनाएको छ ।