
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरु जनताप्रति जवाफदेही भएर काम गर्ने बताएका छन् ।
रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा जवाफदेही हुने र कुनै पनि नराम्रा काम नगर्ने बताए ।
उनले राजनीतिको मूल नीति सफा भएको भन्दै निष्कलंकित भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दा गर्व गर्ने गरी काम गर्ने धारणा राखे ।
मन्त्री तिमिल्सिनाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम रहेकाले परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने चिन्ता रहेको बताए । उनले सार्वजनिक निकायमा हावी भएको नकारात्मकतालाई सुधार गर्दै उनीहरुलाई देश बनाउने अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।
देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने उल्लेख गर्दै उनले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको धारणा राखे । उनले सबै जना इमान्दार र जिम्मेवार भएमा संस्था मात्र नभइ देश पनि सुन्दर बन्ने बताए ।