
मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।
मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो ।
सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको उहाँले बताउनुभयो । थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।”
सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधा युक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रा सम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।
वि. सं २०८१ को असोज महिना शुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्रने पर्यटकको विवरण सहित तथ्याङ्क राख्दै आएको छ । असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
मनाङमा पनि बढ्यो चहलपहल
त्यस्तै, असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरेका छन् ।
एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।
गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ ।
केन्द्रको तथ्याङ्क अनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए । तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।
चामे गाउँपालिका- ५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटक बढेको बताउनुभयो । यसले हामीलाई उत्साहित बनाएको उहाँले बताउनुभयो ।
यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन् । उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।