
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्धको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ ।
आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको रिटमाथिको सुनुवाइ सकिएको हुँदा आजै फैसला आउने अपेक्षा गरिएको छ । ओलीका तर्फबाट राधिका शाक्य र पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिस अनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
ओली पक्राउ परेको दिनदेखि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् । दुवै जनाले आन्दोलन दमनमा आफूहरुको कुनै भूमिका नरहेको जवाफ दिइसकेका छन् ।