
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार जोर–बिजोर प्रणाली लागू गर्ने तयारीमा जुटेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि विभिन्न उपायहरू अघि बढाइएको बताइन् ।
उनका अनुसार सरकारले थोक बिक्री नियन्त्रण गर्नुका साथै उच्च पदस्थ व्यक्तिहरूको इन्धन प्रयोगमा कटौती गरिसकेको छ। “थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती भइसकेको अवस्था छ। आवश्यक परे जोर–बिजोर प्रणाली पनि लागू गरिनेछ,” मन्त्री रावलले भनिन्।
ऊर्जा खपत घटाउन सरकारले सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ अपनाउन तथा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आह्वान गरेको छ।
दीर्घकालीन समाधानका लागि सवारीसाधन रूपान्तरणसम्बन्धी कानुनी व्यवस्था अघि बढाइएको र इथानोल नीतिको तयारी भइरहेको पनि सरकारको भनाइ छ।