
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने फुयाँल गाउँ जाने सडक खण्डमा हिलोले दुर्घटनाको जोखिम बढाएको छ।
जग्गा सम्याउने क्रममा सम्बन्धित पक्षले लापरवाहीपूर्वक सडकमा माटो थुपारेपछि वर्षाले उक्त माटो बगाएर हिलो बनेको र त्यसले सडक सुरक्षामा प्रत्यक्ष असर पारेको स्थानीयले बताएका छन्।
यस विषयमा जानकारी प्राप्त हुनासाथ नगर प्रहरीको टोली तत्काल त्यहाँ पुगेर सडकमा थुप्रिएको माटो हटाउन लगाएर केही जोखिम कम गराएको छ। सडक सुरक्षामा असर पुर्याउने गरी लापरबाही भएको भन्दै सम्बन्धित पक्षलाई नगर प्रहरीले कडा चेतावनी दिँदै भविष्यमा बाटोमा निर्माण सामग्री नराख्न तथा तत्काल सफा गर्न निर्देशन दिएको छ।
आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन निर्माण कार्यमा संलग्न सबै पक्षलाई अनिवार्य रूपमा सावधानी अपनाउन सचेत गराइएको नगर प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न उक्त क्षेत्रमा हाल विशेष निगरानीसमेत बढाइएको छ।
विशेषगरी सहरी क्षेत्रमा निर्माण सामग्री सडकमै थुपार्ने प्रवृत्तिले आवागमनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम बढाउने गरेको छ।