
प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । पक्राउ परेको १३ औं दिनपछि बिहीबार हिरासत मुक्त गरिएको हो ।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई परिवारको जिम्मामा हाजिर जमानीमा थुनामुक्त गरिएको बताए । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।
गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई उनको निवास कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।