काठमाडौं, चैत ३० :

प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

सोमबार माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी) को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन र त्यसको छानबिन गर्न माग गरेका हुन्।

यसअघि सरकारले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार धेरै मन्त्रीहरूले उल्लेख्य मात्रामा सुनचाँदी रहेको देखिएपछि त्यसको स्रोतबारे प्रश्न उठ्न थालेको छ।

प्रदर्शनमा सहभागीहरूले “गरिबको चमेली सुन दिने कोही छैन, मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। साथै, उनीहरूले सार्वजनिक गरिएको सम्पत्तिको निष्पक्ष छानबिन गरी वास्तविक स्रोत खुलाउन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिमा पारदर्शिता आवश्यक रहेको भन्दै यसले सुशासन र जनविश्वास कायम गर्न सहयोग पुग्ने बताएका छन्।