काठमाडौं, वैशाख ३ :

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिको सभापतिमा मनोनयन दर्ता गरिएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नौ विषयगत र संयुक्त दुई  गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई छाडेको छ । त्यसमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।

रास्वपाको तर्फबाट कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिएका हुन्।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराएका छन्।

प्रतिनिधि र राष्ट्रिय सभाअन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीले मनोनयन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । संसदीय समितिका सभापतिको निर्वाचन भोलि हुँदैछ ।