काठमाडौं, वैशाख ७ :

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताए । उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे ।

अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ । उनले पार्टीको विधान भन्दा तल माथि गर्ने अधिकार आफूहरुसँग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दा सम्म यस बिषयमा अरु केही जवाफ दिन नसक्ने स्पष्ट पारे ।

उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रीत गरेको धारणा समेत राखे ।