काठमाडौं, वैशाख १७ :

रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत बिहीबार महिलाहरुले रथ तानेका छन् । उनीहरुले बिहीबार बिहानै ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् । 

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा बसेको किंवदन्ती रहेको छ । महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन रथको टुप्पोबाट नरिवल खसाइएको थियो ।

अबको केही दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतका आधारमा रथलाई तानेर जावलाखेल पुराइएको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।