
कागेश्वरी मनोहरा नगर अस्पतालले आइतबारका दिन समेत सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
बिरामीको चाप तथा सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलद्वारा जारी सूचनामा आइतबार पनि सबै सेवा पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ। यस विषयमा सेवाग्राहीहरूलाई पुनः जानकारी गराउने उद्देश्यले सूचना सार्वजनिक गरिएको अस्पताल प्रशासनले जनाएको छ।
सरकारले इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरे पनि अधिकांश स्वास्थ्य संस्थाहरूले आइतबार सेवा निरन्तर दिँदै आएका छन्। सोही क्रममा कागेश्वरी मनोहरा नगर अस्पतालले पनि आफ्ना स्वास्थ्य सेवा अविच्छिन्न रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
बिदाका दिनमा समेत अस्पताल खुल्दा आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीहरूलाई सहज हुने अस्पतालले विश्वास लिएको छ। यस नगर अस्पतालमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध रहेको छ।