काठमाडौं, वैशाख २३ :

कागेश्वरी मनोहरा नगर अस्पतालको फिजियोथेरापी सेवा प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालले प्रदान गर्दै आएका विभिन्न स्वास्थ्य सेवामध्ये फिजियोथेरापीलाई विशेष महत्व दिइएको छ, जसका कारण उपचारका लागि टाढाटाढाबाट समेत बिरामीहरू आउने गरेका छन्।

फिजियोथेरापी स्वास्थ्य सेवाको एक महत्वपूर्ण विधा हो, जसले शारीरिक दुखाइ, चोटपटक तथा विभिन्न रोगका कारण कमजोर भएका अंगहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउँछ। आधुनिक जीवनशैली, लामो समयसम्म बसिरहने बानी, खेलकुदका चोटपटक तथा वृद्धावस्थासँग सम्बन्धित समस्याका कारण यसको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ।

अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट रोशन पुडासैनीका अनुसार फिजियोथेरापीमार्फत हाडजोर्नी, नसा सम्बन्धी समस्या (प्यारालाइसिस), मुख बाङ्गिने, साथै महिलामा देखिने पाठेघरसम्बन्धी समस्यासम्मको उपचार गरिँदै आएको छ। उनका अनुसार अस्पतालमा करिब साढे दुई वर्ष अघिदेखि फिजियोथेरापी सेवा सुरु गरिएको हो । हालसम्म थुप्रै बिरामीले यसको लाभ लिइसकेका छन्।  विशेषगरी न्युरो तथा प्यारालाइसिसका बिरामीलाई बढी समय दिएर उपचार गरिने गरिएको पुडासैनीले जानकारी दिए।

त्यसो त फिजियोथेरापी सेवा लिन आएका बिरामी भोले भण्डारीले पनि सकारात्मक अनुभव सुनाए। उनले थेरापीबाट उल्लेखनीय सुधार भएको बताए। ‘पहिले सामान्य हिँडडुल गर्न पनि गाह्रो थियो, अहिले भने दौडिन सक्ने अवस्थामा पुगेको छु,’ उनले भने।

यस्तै, त्यहाँ उपचारका लागि आएका अर्का एक बिरामीले पनि आफू चिकित्सकको सल्लाहअनुसार थेरापी गर्न आएको र यसबाट राम्रो सुधार भएको प्रतिक्रिया दिएका छन्।

अस्पतालकी फिजियोथेरापिस्ट प्रसिद्धा कोइरालाले विभिन्न जटिल अवस्थाका बिरामीहरुले पनि थेरापी गरिरहेको बताइन्। उनले हाल ब्रेन क्यान्सरका बिरामीलाई विशेष हेरचाहसहित थेरापी गराइरहेको जानकारी दिँदै, आफैं उभिन वा बोल्न नसक्ने अवस्थाका बिरामीलाई हातखुट्टा चलाउन सक्षम बनाउने प्रयास भइरहेको बताइन्।

उक्त अस्पतालको फिजियोथेरापी विभागमा हाल ६ जना अनुभवी फिजियोथेरापिस्ट कार्यरत छन्। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म १२ घण्टा निरन्तर सेवा प्रदान गरिँदै आएको छ। कागेश्वरी मनोहरा नगर अस्पतालको फिजियोथेरापी सेवा उपचार मात्र नभई बिरामीको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।