काठमाडौं, वैशाख २३ :

निजामती सेवा र नेपाल स्वास्थ्य सेवासँग सम्बन्धित १२ वटा ट्रेड युनियन खारेज गरिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना प्रकाशित गर्दै ती युनियनहरू खारेज गरिएको जनाएको हो।

उक्त युनियनहरू यसअघि निजामती सेवा ऐन, २०४९ (तेस्रो संशोधन, २०७४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भएका थिए। तर ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७३’ (अध्यादेश नं. ०७) को आधारमा विभागको निर्णयाधिकारीले वैशाख २३ गते गरेको निर्णयअनुसार ती युनियनहरूको दर्ता खारेज गरिएको सूचनामा उल्लेख छ।

खारेज गरिएका निजामती सेवा ऐनअन्तर्गत दर्ता भएका राष्ट्रियस्तरका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २१९), नेपाल मधेसी निजामती कर्मचारी मञ्च (दर्ता नं. २३१), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नं. २७२), मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नं. ४२३) र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल (दर्ता नं. ५७०) रहेका छन्।

यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भएका राष्ट्रियस्तरका ट्रेड युनियनहरू—नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४) र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ४५२)—समेत खारेजीमा परेका छन्। विभागको निर्णयसँगै यी सबै ट्रेड युनियनहरूको वैधानिक हैसियत समाप्त भएको छ।