काभ्रे, असोज २२ :

काभ्रे- गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको विवरण छिटोभन्दा छिटो संकलन गर्न स्थानीय निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ।

बाढी पहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका-१२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको- ४ स्थित चलालगणेशस्थानको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको लाभग्राही सूची तयार गर्न आग्रह गर्नुभएको हो । 
 

बाढी र पहिरोमा परेर बासस्थान नभएका ५ जनासम्मको परिवारलाई १५ हजार, ५ जनाभन्दा माथिका परिवारलाई २० हजार रुपैँया सरकारले तत्कालै वितरण गर्ने जानकारी  पनि गृहमन्त्री लेखकले दिनुभयो ।

 प्राकृतिक विपतिका कारण काभ्रेमा मानवीय एंव भौतिक क्षति धेरै भएकोमा दुःख व्यक्त गर्दै मन्त्री लेखकले जनताको पीडामा छ सरकारसँगै भएको अनुभूति दिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गर्ने र  त्यसपछि सडक, सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा काम गर्ने जानकारी पनि मन्त्री लेखकले दिनुभयो ।