
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर आफू जे पनि गर्न तयार रहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताए । १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए। सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए । उनले आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको समेत बताए।
सभापति थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । कांग्रेसले नागरिकको अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने भन्दै नागरिकको आत्मसम्मानको विषयमा पार्टी ठिक स्थानमा उभिने स्पष्ट पारे । सभापति थापाले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिबारे कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै सरकारले सुशासन स्थापनाका लागि गर्ने काममा कांग्रेसको साथ रहने बताए ।
यता नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए।