
कागेश्वरी मनोहरा नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयमा छलफल गरेको छ। थलीस्थित नगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा विपद् व्यवस्थापनका सन्दर्भमा नगरपालिकाबाट हालसम्म भएका काम, आगामी योजना तथा तयारीका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा नगरप्रमुख कार्कीले विपद् व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले मनसुनजन्य विपद्, आगलागी, बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, जनचेतना र उद्धार संयन्त्रलाई प्रभावकारी बनाइएको जानकारी दिए।
उनले विपद्को समयमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय महत्वपूर्ण हुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार र सजग बन्न आग्रह गरे। “विपद् आउनुअघि नै तयारी बलियो बनाउन सके क्षति न्यूनीकरण गर्न सकिन्छ,” उनले भने।
यसैगरी उपप्रमुख थापाले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले काम भइरहेको जानकारी दिइन्।
कार्यक्रममा सहभागी प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरुले विपद्को समयमा उद्धार, राहत र सुरक्षाका लागि आवश्यक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरपालिकाको विपद् शाखाले विपद् जोखिम न्यूनीकरण, तयारी, प्रतिक्रिया, राहत तथा पुनर्निर्माणसम्बन्धी कार्य सञ्चालन गर्दै आएको जनाएको छ। शाखाले सामुदायिक सहभागिता र पूर्वसूचना प्रणालीमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
नगरपालिकाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८२/८३ मा विपद् व्यवस्थापनतर्फ चालु विनियोजन बजेट रु. ३३ लाख २५ हजार ६८० रहेको छ। जसमध्ये रु. ९ लाख बराबरका कार्यक्रम सम्पन्न भइसकेका छन् भने रु. २४ लाखका कार्यक्रम कार्यान्वयन प्रक्रियामा रहेका छन्। हालसम्म कार्यान्वयन दर ३७ प्रतिशत पुगेको नगरपालिकाले जनाएको छ। त्यस्तै, विपद् कोषमा विनियोजन गरिएको रु. १ करोड ८० लाख बजेटको कार्यान्वयन दर १०० प्रतिशत रहेको जानकारी दिइएको छ।
नगरपालिकाले विपद् सम्बन्धी समस्या परेमा सम्पर्क गर्न सकिने आपत्कालीन सम्पर्क नम्बर र व्यक्तिहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ। सार्वजनिक विवरणमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी तथा सबै वडाध्यक्षसहित २५ जनाको नाम र टेलिफोन नम्बर समावेश गरिएको छ।