
सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छोड्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको निर्णय उल्टाउँदै पूर्वमन्त्री गुप्तालाई छाड्न आदेश दिएको हो।
सर्वोच्चले आदेशमा भनेको छ, ‘ गुप्तालाई ५० लाख रुपैयाँ धरौटी वा त्यसबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्नू।’ गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो। पूर्वसामान्य प्रशासनमन्त्री गुप्तालाई २०८२ पुस १७ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा छन्।
पोखराको लिचीबारी जग्गा प्रकरणमा ७८ लाख घुस लेनदेन भएको ठहर गर्दै गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।