
काठमाण्डौँ, साउन १८ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो ।
गत मङ्गलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँधुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ ।
डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वयगरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताउनुभयो ।
मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडकको समेत अवलोकन गर्दै सरकारले गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिनुभएको छ ।
उहाँलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।
अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिनुभयो ।