काठमाडौं, भदौ २४ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिए । 

उनले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरिन् । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र ‘एक्लै संसार बोकेर हिँड्ने’ अहङ्कारी शैली देखाएको उनको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताए ।

उनले गत बर्ष युवाहरूमाथि गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गरे । जेनजी आन्दोलनमा भू–राजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उनले बताए ।