
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन्।
मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरुले राखेका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् ।
विपक्षी दलसंगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ विपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए ।
उनले यसबीचमा राजनीतिक छलफल र संवाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दावी गरे । महामन्त्री बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको बताए । त्यस्तै भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ ।
उनले अब बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका विषयमा छलफल हुने र समयमा नै पारित हुनेगरी अघि बढ्ने गरि विपक्षी दलसंग सहमति भएको समेत जानकारी दिए ।