नयाँ दिल्ली, जेठ २० :

भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिश स्टे बी एन्ड बी होटलमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुने मध्ये ११ जना विदेशी नागरिक रहेको पुष्टि भएको छ । तर उनीहरु कुन कुन देशका थिए भनेर खुलाइएको छैन ।

आगलागीमा परी घाइते हुनेमा दुई जना नेपाली समेत रहेका छन् ।  तर उनीहरु उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते  १६ जना विदेशीको अवस्था गम्भीर रहेको छ । तीमध्ये १० जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको समाचारमा जनाइएको छ ।

४० भन्दा बढी व्यक्तिलाई सुरक्षित उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको थियो।  अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ ल्याइएका ३९ जना बिरामीमध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो।

स्थानीय भारतीय जनता पार्टी (भाजपा) का विधायक सतीश उपाध्यायले २१ जनाको मृत्यु भएको र ४७ जनालाई सुरक्षित उद्धार गरिएको बताएका छन्।यस्तै, आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीमा २१ जना जिउँदै जलेर मृत्यु भएको र मृतक संख्या अझ बढ्न सक्ने बताएका छन्।

घटनाप्रति भारतका प्रधानमन्त्री, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता तथा उपराज्यपाल तरणजीत सिंह सन्धूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
दिल्ली प्रहरीका अनुसार आज बिहान ८:४८ बजे होटलमा आगलागी भएको थियो । आठ वटा दमकल गाडीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।