
काठमाडौं, जेठ २४ :
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने भएको छ। कांग्रेसद्वारा गठित मन्त्रालयगत संयोजकहरूको आइतबार बसेको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो।
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे नेतृत्वमा उक्त बैठक बसेको थियो । मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने कांग्रेसले जनाएको छ। यस्तै कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधि सभाअन्तर्गत विभिन्न विषयगत समितिहरूमा समन्वय गर्न सांसदहरूलाई जिम्मेवारी तोकेको हो।