काठमाडौ, जेठ २५ :

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन् ।

कार्यदलको बैठक भोली १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमालेले जनाएको छ ।

गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्य योजना तयार गर्न कार्य दल बनाएको थियो । उपाध्यक्ष ‘बादल’ को नेतृत्वको कार्य दल १५ सदस्यीय रहेको छ ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा भए पनि कार्यदल गठन भएको १५ दिनमा बल्ल पहिलो बैठक बस्न लाग्दैछ ।

कार्यदलले कसरी काम गर्ने भन्ने विषयमा बैठक छलफल केन्द्रित हुनेछ ।

कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सादै प्रदेश अध्यक्ष सदस्य रहेका छन् ।