काठमाडौं, जेठ २५ :

नेपालले एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको उपाधि जितेको छ ।   सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

१ सय ८९ रनको लक्ष्य पाएको नेपालले  ११.३ ओभरमा २ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । वर्षाले खेल प्रभावित हुन पुगेपछि नेपाल डक वर्थ लुइस पद्धतिका आधारमा विजेता बनेको हो ।

हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो ।

नेपालका लागि ओपनर कुशल भूर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाएका हुन । त्यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए । रोहित पौडेलले २४ बलमा ३५ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो । हङकङको लागि अशुंमन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन । त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन बनाउँदै आउट भए । शिव माथुरले २१ बलमा २६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।