
सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । सिंहदरवारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए। प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ । त्यस्तै प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको धारणा राखे ।
संसदको अवरोधबारे प्रवक्ता पोखरेलले आवश्यक परेका अवस्थामा प्रधानमन्त्री सदनमा गएर जवाफ दिने उल्लेख गरे । साथै उनले मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।
२. निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
३. विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने ।
४. पूर्व गृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने ।