काठमाडौं, जेठ २६ :

गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र पुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

सम्पत्ति छानबिन समितिले क्लिन चिट दिएपछि गुरुङलाई पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर जुटेको हो। पुन: गृहमन्त्री बनेका गुरुङलाई पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरीयतामा राखिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहपछि दोस्रो वरीयतमा अर्थमन्त्री स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो वरीयतामा उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ।  सुधनमाथि उठेका प्रश्नको पारदर्शी जवाफबिनै पुनर्बहाली गरिएपछि यसले थप आशंका जन्माएको छ । 

उनीप्रति गम्भीर प्रश्न उठेका छन् ती प्रश्नको एक-एक जवाफ नआउँदै  उनलाई गृह मन्त्रालयमा फेरि ल्याउनु राजनीतिक वृत्तमा प्रश्न उब्जाएको छ ।