
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजदरबार हत्याकाण्डको छानबिन गर्ने कुराको स्वागत गर्दै मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्न माग गरेका हुन् ।
घिसिङले उक्त घटनाको छानबिन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक उच्च व्यक्तित्वसँग सम्बन्धित घटनाहरूको पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । यसैबीच अध्यक्ष घिसिङले निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराए ।