
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशकी नेतृ गोमा तामाङ (शरिन) ले राजनीतिबाट संन्यास लिने घोषणा गरेकी छन्। रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रूपमा आबद्ध रहेकी तामाङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो राजनीतिक यात्रा अन्त्य गर्ने निर्णय सार्वजनिक गरेकी हुन्। पार्टीको प्रदेश सभापतिको निर्वाचनमा पराजितपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्।
प्रदेश सभापतिको निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै तामाङले पार्टी नेतृत्वले ह्विप जारी गरेर आफूलाई हराउन भूमिका खेलेको आरोप लगाएकी छन्। पार्टीभित्रैबाट धोका पाएको अनुभूति भएको उल्लेख गर्दै उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णय लिएको बताएकी छन्।
तामाङको राजनीतिक संन्यास घोषणापछि रास्वपा कोशी प्रदेशको आन्तरिक राजनीति पुनः चर्चामा आएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी हर्कराज राई सँग पराजित भएकी थिइन्।