
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी आर्थिक वर्षको बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप भार थोपरेको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्खला कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको बजेटले मध्यम वर्ग र निम्न आय भएका नागरिकलाई ‘भ्रम’ मा पारेको आरोप लगाए।
सभापति थापाले सरकारले कर छुटको घोषणा गरे पनि महँगी र अन्य शुल्कका माध्यमबाट जनताको पसिना लुटेको दाबी गरे। उनले भने, ‘मध्यम वर्गका लागि यो बजेट लक्जरी होइन, झन् ठूलो सास्ती बनेर आएको छ।’
स्वास्थ्य र शिक्षा क्षेत्रको बेथिति औँल्याउँदै थापाले सरकारी अस्पतालमा आईसीयू बेड नपाएर निजीमा जानुपर्ने बाध्यता र सरकारी विद्यालयको कमजोर अवस्थाले मध्यम वर्ग मारमा परेको उल्लेख गरे।
उनले ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई भ्याट लगाउने र स्वास्थ्य बिमालाई धराशायी बनाउने सरकारी नीतिको आलोचना गरे।
उनले सरकारलाई निजी क्षेत्रको प्रवर्द्धनका लागि राजमार्ग बनाइदिन आग्रह गर्दै आफैँ व्यापारमा नहोमिन सल्लाह दिए। सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रले उल्लेख्य काम गरिरहेको बेला सरकार आफैँ ‘एप’ बनाउने र नियन्त्रणमुखी बन्ने बाटोमा लागेको उनको आरोप छ।
राजस्व परिचालनको लक्ष्यलाई थापाले आधारहीन र बदलाको भावनाबाट प्रेरित भनी टिप्पणी गरे। उनले सरकारलाई आफ्ना नीतिहरू सच्याउन र वास्तविक आर्थिक रूपान्तरणमा लाग्न समेत आग्रह गरे।