
क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौं विश्वकपको पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्डले आफ्नो उद्घाटन खेलमै गोल गरेपनि ४१ वर्षीय रोनाल्डो भने बुधबार पोर्चुगल र कङ्गोबीच १–१ को बराबरीमा गोल गर्न असफल भए।
खेलपछि रोनाल्डोले सञ्चारकर्मीसँग कुरा गरेनन्। तर उनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखे: “हामीले चाहेको सुरुआत भएन, तर प्रतियोगिता अझै धेरै बाँकी छ। टाउको उचो राखेर अर्को खेलमा ध्यान केन्द्रित गरौं।”
यस वर्षको विश्वकपमा भिनिसियस जुनियर, क्रिस्टियन पुलिसिक, विक्टर ग्योकेरेस र ह्यारी केनले पनि सुरुआती खेलमै गोल गरेका कारण रोनाल्डोको गोलरहित प्रदर्शन अझ बढी चर्चाको विषय बनेको छ।
यद्यपि रोनाल्डोले मेस्सीसँगै विश्वकपका छ संस्करणमा खेल्ने दुर्लभ उपलब्धि हासिल गरेका छन्। अर्जेन्टिनाका कप्तान मेस्सीले एक दिनअघि ह्याट्रिक गरेपछि रोनाल्डोसँग पनि छैटौं विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने अवसर थियो। तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको ६८औं र ७३औं मिनेटमा रोनाल्डोले प्रहार गरेका दुई अवसर गोलपोस्टको दायाँतर्फ बाहिरिए। दुवै अवसर गुमाउँदा उनी स्पष्ट रूपमा निराश देखिएका थिए।
खेलपछि रोनाल्डोले सञ्चारकर्मीसँग कुरा गरेनन्। तर उनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखे: “हामीले चाहेको सुरुआत भएन, तर प्रतियोगिता अझै धेरै बाँकी छ। टाउको उचो राखेर अर्को खेलमा ध्यान केन्द्रित गरौं।”
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजलाई खेलपछि रोनाल्डोलाई प्रतिस्थापन गर्ने विषयमा विचार गरेका थिए कि थिएनन् भनेर प्रश्न गरिएको थियो।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई मैदानबाट निकाल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भने “जब टोलीलाई गोलको आवश्यकता हुन्छ, संसारकै सर्वाधिक गोलकर्ता खेलाडीलाई बाहिर निकाल्नुको कुनै अर्थ हुँदैन। पेनाल्टी क्षेत्रभित्र क्रिस्टियानोको अनुभव महत्त्वपूर्ण छ। उनले विपक्षी डिफेन्डरहरूलाई आफूमा केन्द्रित गराउने क्षमता पनि टोलीका लागि उपयोगी हुन्छ।”
कङ्गोका मिडफिल्डर न्गाल'आयेल मुकाउ, जो रोनाल्डोभन्दा २० वर्ष कान्छा छन् उनले फुटबल इतिहासका महान खेलाडीमध्ये एकको सामना गर्ने अनुभवबारे प्रतिक्रिया दिदै भने “हामीलाई थाहा छ कि रोनाल्डो पहिले जस्तो छैनन्। अहिले उनी कम दौडिन्छन् र कम मेहनत गर्छन्। त्यसैले उनलाई रोक्ने जिम्मेवारी हाम्रो रक्षापङ्क्तिको थियो, र उनीहरूले उत्कृष्ट काम गरे।”
बुधबारको खेल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको २२९औं खेल थियो, जुन पुरुष फुटबल इतिहासमै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलको कीर्तिमान हो।
रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसिप (युरो) जिताएका थिए। तर विश्वकपमा उनको सबैभन्दा उत्कृष्ट उपलब्धि सन् २००६ को प्रतियोगितामा आएको थियो, जहाँ पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो।