काठमाडौं, असार ४ :

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री बालेन्द्र शाहसँग गृहमन्त्री सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बिहीबार बोल्दै सांसद केरुङले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै उक्त अभिव्यक्तिले ३ करोड नेपालीको भावनामा चोट पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभाकै रोष्ट्रममा उभिएर माफी माग्न वा आफ्नो भनाइबारे स्पष्ट पार्न आग्रह गरे।

साथै, प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखको ध्यानाकर्षण समेत गराएका छन्।

सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन तथा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

“गृहमन्त्रीलाई कसरी सफाइ दिइयो र प्रतिवेदनमा के उल्लेख छ भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,” सांसद केरुङले भने।