काठमाडौै, असार ४ :

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको छ। नगरपालिकाको खाद्य अनुगमन शाखाकी प्रमुख शान्ति ढकालको नेतृत्वमा खटिएको टोलीले बिहीबार वडा नं. २ क्षेत्रमा रहेका विभिन्न खाद्य स्टोर, किराना पसल, होटल तथा थोक बिक्रेता प्रतिष्ठानहरूको अनुगमन गरेको हो।

नगर प्रहरी र स्थानीय जनप्रतिनिधिहरू समेत सहभागी रहेको अनुगमन टोलीले खाद्य वस्तुको गुणस्तर, म्याद, भण्डारण अवस्था, सरसफाइ तथा उपभोक्ता हितसँग सम्बन्धित विभिन्न पक्षहरूको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद नाघेका ओट्स, कर्नफ्लेक्सलगायत विभिन्न खाद्य सामग्री फेला परेका थिए। ती सामग्रीहरू तत्काल जफत गरी अनुगमन प्रमुख ढकाल, नेपाल प्रहरी तथा नगर प्रहरीको रोहबरमा प्याकेटबाट निकालेर पूर्ण रूपमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी, स्थानीय होटलहरूमा गरिएको निरीक्षणका क्रममा केही होटलका फ्रिजहरूमा पकाइएका र कच्चा खाद्य पदार्थहरू असुरक्षित तथा अस्वस्थकर ढंगले सँगै राखिएको पाइएको थियो। टोलीले त्यस्ता होटल सञ्चालकहरूलाई खाद्य सुरक्षा मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ।

अनुगमनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान र किराना पसलहरूमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य वस्तुहरूको उपभोग्य मिति, सिलबन्दी तथा लेबलसम्बन्धी विवरण समेत जाँच गरिएको थियो। साथै बजारमा उपलब्ध पेय पदार्थ र सिलबन्दी गरिएका बोतलहरूको गुणस्तर तथा लेबलिङको पनि सूक्ष्म निरीक्षण गरिएको थियो।

अनुगमनपछि खाद्य अनुगमन शाखाकी प्रमुख ढकालले उपभोक्ताको स्वास्थ्यमा कुनै पनि प्रकारको खेलबाड स्वीकार्य नहुने बताइन्।

“उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कसैलाई छैन। आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइनेछ र नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइनेछ,” उनले भनिन्।

अनुगमन टोलीले व्यवसायीहरूलाई पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न, खाद्य सामग्रीको उचित भण्डारण गर्न तथा सरसफाइ कायम राख्न पनि आग्रह गरेको छ।

नगरपालिकाले उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा सुनिश्चितता तथा स्वस्थ बजार व्यवस्थापनका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।